काठमाडौं । नेपालमा रेल भित्रिएको तीन महिना हुँदा पनि सञ्चालनमा आउन सकेको र्छन् । गत असोजमा नेपाल भित्रिएको रेल ट्र्याकमा थन्किएको छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल आवश्यक तयारी नगरी किन्दा सञ्चालनमा आउन नसकेको रेल विभागका अधिकारीहरू स्वीकार्छन्।
रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नपुग्ने र अन्तर्देशीय रेलमार्ग भएकोले भारतसँग आवश्यक सहकार्यको खाका तयार हुन बाँकी रहेको विभागले जनाएको छ ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पुस मसान्त भित्रमा रेल सञ्चालनमा आउने दाबी गरेका छन्। भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ।
हाल कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन गर्नका लागि रेल खरिद गरिएको हो।नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो।
निकै लामो समय लगाएर नेपालले रेल खरिद गरेको भए पनि आवश्यक तयारी पूर्ण हुन नसक्दा रेल थन्किन बाध्य भएको चित्रकारले बताए।
रेल सञ्चालनका लागि आवश्यक कानुनदेखि दक्ष जनशक्ति उपलब्ध नहुँदा रेल कहिले सञ्चालनमा आउने हो भन्ने कुराको समेत यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
ूहामीले रेल सञ्चालनका लागि आवश्यक केही जनशक्ति आउटसोर्स नगरी हुँदैन, चित्रकारले भन्नुभयो । यो अन्तर्देशीय रेलमार्ग भएकाले सबै कुरा नेपाल एक्लैले गर्न सक्ने अवस्था पनि रहँदैन। भारतसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ जुन दुई देशको संयुक्त संयन्त्र बैठकमार्फत् भइरहेको छ।
उनका अनुसार संयन्त्रको पछिल्लो बैठकका क्रममा स्टयान्डर्ड अपरेटीङ प्रसिडयोर तयार पार्ने काम भइरहेको छ।
गत भदौ महिनामा नेपाल रेल्वे कम्पनी लिमिटेडले कर्मचारीहरूको माग गर्दै सूचना जारी गरेको थियो। करिब १३० पदका लागि कर्मचारी माग गरिएको थियो।
तर करारमा ठूलो सङ्ख्यामा कर्मचारी ल्याउने विषयमा विवाद उत्पन्न भएपछि लोकसेवा आयोगले प्रक्रिया अगाडि बढाउने गरी प्रक्रिया मोडिएको छ। रेलमार्ग सञ्चालनका लागि नेपालमा दक्ष जनशक्ति उपलब्ध नभएकाले हालका लागि भारतबाटै ल्याउने गरी तयारी थालिएको चित्रकारले जानकारी दिनुभयो।
तत्कालका लागि सङ्घीय मामिला मन्त्रालय अन्तर्गतका केही कर्मचारी र सडक अनि रेल विभागका कर्मचारीका साथै केही पूर्वकर्मचारीहरूलाई समेटेर रेल सञ्चालनका लागि अन्तिम तयारी गरिरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो। पुस मसान्त भित्रमा रेल सञ्चालनमा आउने उहाँको दाबी छ ।
कानुनको अभाव
रेल सञ्चालनमा कर्मचारी बाहेक कानुनको अभाव पनि खड्किएको अधिकारीहरू बताउँछन्।
संसद्मा कानुनको मस्यौदा पेस गरिएको भए पनि तत्कालका लागि बाटो खुला गर्न अध्यादेश ल्याउने गरी तयारी थालिएको उनीहरू बताउँछन्। गत पुसमा सरकारले रेलसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो।
कानुन राष्ट्रिय सभाबाट छलफल भएर लगभग टुङ्गिएको अवस्था छ। यो बिस्तारै अब तल्लो सदनमा आउला। त्यो कानुन आउन समय लाग्ने भयो भने सुरक्षा र सम्पत्तिसँग सम्बन्धित विषय समेटेर अध्यादेशमार्फत् रेल सञ्चालन गर्ने तयारी भएको छ, भट्टराईले भन्नुभयो ।
रेलको सुरक्षा
इनरुवामा रेलको ट्रयाकमै पार्क गरेर राखिएको रेलको सुरक्षार्थ सशस्त्र प्रहरी खटाइएको बताइएको छ।
सञ्चालनमा आउन नसकेको तयार राख्न लागि अपकिपिङको काम गरिराखेको अधिकारीहरू बताउँछन्। रेल बेच्ने कम्पनीले नै हाम्रा कर्मचारीहरूको उपस्थितिमा रेल स्टार्ट गर्ने, अगाडी–पछाडि गराउने जस्ता कामहरू गरिरहेका छन्। त्यो निश्चित समयान्तरमा निरन्तर भइरहेको छ, उहाँले भन्नुभयो ।
रेलको सुरक्षामा प्रहरी परिचालन गरिएको भए पनि रेलको ट्रयाकबाट ठूलो सङ्ख्यामा क्लीप चोरी भएको विवरणहरू सार्वजनिक भएका छन्।
हालसम्म रेलवे ट्रयाक हस्तान्तरण नभइसकेको हुँदा चोरी भएका सामान भारतले राखिदिने र छिट्टै हस्तान्तरण सम्पन्न हुने भट्टराईले बताउनुभयो । -बीबीसीको सहयोगमा