Aafno Khabar

कोरोना खोप मुनाफा कमाउने माध्यम बन्‍नु हुँदैन : प्रधानमन्त्री ओली

  • आफ्नो खबर
  • December 4, 2020 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ हुनुपर्ने बताउनुभएकाे छ । शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको पनि बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’

कोरोना महामारीबाट कोही पनि सु्रक्षति नभएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं । महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको छ ।यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।’

अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटका लागि तयार नभएको अवस्थाबाट जनस्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको उहाँले बताउनुभयाे । ‘शून्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे ।