Aafno Khabar

मानव बेचविखन गरेको अभियोगमा एक जना पक्राउ

  • आफ्नो खबर
  • December 2, 2020 प्रकाशित

काठमाडौं । गैरकानुनी रुपमा दक्षिण अफ्रिकामा लगेर मानव बेचविखन गरेकाे अभियोगमा एक जना पक्राउ परेका छन् । ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवा मंगलबार पक्राउ परेका हुन् ।

उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पुर्‍याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाई राखेको खुल्न आएको छ ।

पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगी दूतावासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भए पश्‍चात् दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो ।

लोंवामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।