Aafno Khabar

राजावादीको आन्दोलनलाई हल्का नलिऔं, प्रधानमन्त्रीको पनि सम्पती छानबीन गरौं : मसाल

  • आफ्नो खबर
  • December 2, 2020 प्रकाशित

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको राजतन्त्र पक्षहरुको आन्दोलनलाई हल्का रुपमा नलिन नेपाल कम्युनिष्ट पार्टी मसालले आग्रह गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरेर यस्ता गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।

अन्यथा, पौष १ गते र माघ १९ गतेका घटनाहरुको पुनरावृत्ति हुने र त्यसका विरुद्ध नेपाली जनताले पुनः लामो संघर्ष गर्नुपर्ने स्थितिको सिर्जना हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने सिंहको भनाई छ।

नेकपा वा अहिलेको सरकारप्रतिको असन्तोषका कारणले गणतन्त्र प्रति नै असन्तोष र विरोधका आवाज सुनिएको भन्दै मसालले तर सरकारको असन्तोषका कारणले राजतन्त्रको समर्थन गर्नु तात्कालिक र दीर्घकालीन दृष्टिकोणले देश र जनताका लागि घातक हुने बताएको छ ।

मसालले स्वयं प्रधानमन्त्री र सरकारले भ्रष्टाचार काण्डहरुमा छानबिन गरेर दोषीहरुलाई सजाय दिन पहलकदमी गर्नुको सट्टा बिनाकुनै छानबिन आरोपित व्यक्तिहरुलाई सफाइ दिने गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन जायज रहेको धारणा राखेको छ ।