Aafno Khabar

प्रचण्डको प्रस्तावमा छलफल गर्नै मानेनन् ओली, भोलिको बैठकमा नजाने

  • आफ्नो खबर
  • December 1, 2020 प्रकाशित

फाइल तस्विर

काठमाडौं । महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।

बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी परेपछि बैठक कुनै पनि निचोडमा नपुगी सकिएको हो ।

सुरुमा ओलीले बैठकको एजेण्डाबारे प्रश्न गरेपछि प्रचण्डले सचिवालयमा पेश भएका प्रस्तावबारे छलफल हुने बताए । तर ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने बताएका बुझिएको छ ।

त्यस्तै ओलीले प्रचण्डले माफी माग्नुपर्ने माग गरेको बताइएको छ । नेताहरुमाथि आरोपप्रत्यारोप गरिएको पत्रहरु समेटेर प्रकाशन गरिएकोमा ओलीको आपत्ति थियो। लाञ्छनाहरुले भरिएको पत्र पार्टीकै लोगो राखेर प्रकाशन गर्नु पार्टी विधान बिपरीत भएको ओलीको तर्क थियो ।

बैठकमा अल्पमत र बहुमतको कुरा नहुने ओलीको भनाई थियो । त्यस्तै भोलि बोलाइएको सचिवालय बैठकमा नआउने ओलीको भनाई छ। स्रोतका अनुसार ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहे पनि अन्य नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताए पछि ओली बैठकमा नआउने बुझिएको छ ।