Aafno Khabar

बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

  • आफ्नो खबर
  • November 29, 2020 प्रकाशित

बैतडी । बैतडीमा बलात्कारको घटना गाउँमा मिलाएको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । घटना भएको साढे पाँच महिनापछि एक तोला सुनमा मिलाउने वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय शेरसिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका-३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका-३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र ३१ वर्षीय पुरुष रहेका छन् ।

सोही गाउँपालिका बस्ने २१ वर्षीय दिपक सिंह धामीले गत जेठ २३ गते बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको तथा उक्त घटनाबारे गत असारमा वडा अध्यक्ष साउदलाई जानकारी गराउँदा यो कुरा घरमै मिलाउनु पर्छ भनि दिपकको कसूर लुकाउन मिलापत्र गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउदसहित अन्य ४ जनालाई शनिबार पक्राउ गरेको हो ।

फरार रहेका अभियुक्त दिपक सिंह धामीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।