काठमाडौं । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ । आयोगले राजपत्रांकित प्रथम श्रेणी सह सचिव र द्वितीय श्रेणी उप सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह सचिव १ सय ८२ तथा उप सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो ।
आयोगका अनुसार उप सचिवमा बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ ।
संसदतर्फ १६ बढुवा र दुई खुला गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सह सचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा आवेदन मागिएको हो ।
जसमध्ये निजामतीतर्फ बढुवा ९५ जना र खुला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुला गरी ७४ पदमा विज्ञापन खुलेको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवातर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कात्तिक १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
गएको चैतदेखि रोकिएको परीक्षाको लागि आयोगले यसअघि नै नयाँ तालिका सार्वजनिक गरिसकेको छ । कोरोना सङ्क्रमित परीक्षामा बस्न नपाउने गरी आयोगले मापदण्ड तयार पारेको छ ।