विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ । कूल सङ्क्रमितमध्ये २ करोड ५७ लाख ४ हजार निको भएका छन् भने करिब ७८ लाख ३ हजार २९१ मानिस सक्रिय सङ्क्रमित छन् ।
विश्वभर अझै पनि ६६ हजार ९२ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७४ लाख ९७ हजार नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म २ लाख १२ हजार ६९४ को मृत्यु भएको छ ।
भारतमा ६३ लाख ९७ हजार ८९६ सङ्क्रमित भएका छन् भने यहाँ ९९ हजार ८३३ को ज्यान गइसकेको छ । त्यस्तै, ब्राजिलमा ४८ लाख ९७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४४ हजार ७७६ को मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ सङ्क्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गरी सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।
– एएफपी