काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सहमति जुटेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन ।
रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।
पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालयसमेत दाङमै खोलिएको थियो । तर, पूर्वएमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो ।
शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए ।
तर, अध्यक्षद्वयबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको मुद्दा टुंगो लाग्ने नेकपा नेताहरुले बताएका छन् ।