Aafno Khabar

प्रधानमन्त्रीले सुविधाका लागि मन्त्रालय फुटाउनु संविधानको मर्म विपरित : रामचन्द्र पौडेल

  • आफ्नो खबर
  • October 1, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप गरेर मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्ति संविधानको मर्म विपरित भएको बताउनु भएको छ ।

वरिष्ठ नेता पौडेलले सामाजिक संजालमा प्रतिक्रिया लेख्दै प्रधानमन्त्रीले पटक पटक मन्त्रालय विभाजन गरि मन्त्री पद बाँड्ने प्रवृतिलाई नयाँ संविधानले अन्त गर्न खोजेको स्पष्ट पार्नुभएको छ । उहाँले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएको आरोप लगाउनुभएको छ ।

उहाँले कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था भएका बेलामा जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरिए नेपाली कांग्रेस सरकारको सो कामका विरुद्धमा उत्रने चेतावनी समेत दिनुभएको छ ।