काठमाडौं । डा.गोविन्द केसीमा माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ । संघले उहाँको जीवन रक्षाका लागि कठोर कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ ।
बुधबार संघले विज्ञप्ति जारी गरि डा. केसीको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गरी अबिलम्ब वार्ता टोली गठन गरि उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो । डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएकाले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथाशीघ्र समाधान निकाल्न माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर भएको विज्ञप्तिमा केसीको सत्याग्रहको १७ दिन भइसक्दा पनि वार्ता टोली गठन गर्न र जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।