काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय मान्य नहुने चेतावनी दिएको छ । पौडेल पक्षले देउवाको एकलौटी कार्यशैली विरुद्ध आज केन्द्रिय कार्यालयमा विरोधपत्र पनि दर्ता गराएको छ ।
वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत ३० जना भन्दा धेरै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्र आज पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको हो ।
पत्रमा पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै काँग्रेसको १४ औं महाधिवेशनको निर्धारण गरिएको मिति आगामी फागुनभित्र सम्पन्न गर्ने प्रमुख दायित्व पनि नेतृत्वकै भएको उल्लेख छ ।
पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गर्नुपर्ने स्थानीय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरित भएका काम तथा निर्णयहरु तत्काल खारेज गर्न पत्रमा माग गरिएको छ ।
कांग्रेसमा विलय हुने अन्य राजनीतिक पार्टीका सदस्यका सम्बन्धमा पनि विधान विपरित पद वितरण गर्ने तथा क्रियाशील सदस्यता सम्बन्धि जथाभावी निर्णय गरी विभिन्न मितिमा जिल्लामा परिपत्र गरेको भन्दै नेता पौडेल समूहले ध्यानाकर्षण भएको जनाएको छ ।
‘जिल्लामा पठाइएका क्रियाशील सदस्यताका फारमहरू केन्द्रीय परिपत्रअनुसार जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति र माताहतका निकाय प्रमुखलाई क्रमशः दिनुपर्ने व्यवस्था भएपनि कतिपय जिल्लामा विधान विपरीत निकटस्थ व्यक्तिलाई सिधै दिई मनपरी गरिएको छ । क्रियाशील सदस्यताको वितरण वडा र गाउँस्तरीय वैधानिक व्यवस्था अनुरुप नै हुनुपर्छ, अन्यथा स्वीकार्य हुँदैन ।’ पत्रमा उल्लेख छ ।
पार्टीको महासमितिको बैठकले पारित गरेको विधानको मसी नसुक्दै विधानले निश्चित व्यवस्था गरेको २८ विभागलाई बढाएर ४८ विभाग पुर्याइएको र कार्यकालको अन्तिम समयमा अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडिएको नेता पौडेल समूहको आरोप छ ।
सभापति देउवाले यही असोज १९ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक अवधिसम्ममा न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ तदारुकता नदेखाएमा वैधानिक सङ्घर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने पत्रमा उल्लेख छ ।