कास्की। गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन् । त्यहाँको वडा नम्बर ५, ६, ८, १० र ११ मा संक्रमित भेटिएका छन् । बागलुङमा सबै संक्रमित ढोरपाटन नगरपालिका हुन् । त्यहाँको वडा नम्बर १ मा १३ जना र वडा नम्बर ४ मा १ जना भेटिएका हुन् ।
कास्कीको रुपा गाउँपालिकामा ३ र माछापुच्छ्रे गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना संक्रमित भेटिएका छन् ।