काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले
विदेशमा अलपत्र परेका सबै नेपालीलाई एक महिनाभित्र उद्धार गरिसक्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिनाभित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताउनुभयो । त्यसका लागि उडान सङ्ख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।
सुरुमा दैनिक पाँच सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि आठ सय जनालाई ल्याउने व्यवस्था गरिएको थियो । त्यो सङ्ख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको उहाँको भनाई छ।
आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नबेहोर्नेलाई घरसम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोक कल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।
देशभित्र बेरोजगार भइ बसेका श्रमिकहरुको उद्धारका लागि कुनै तथ्याङ्क नहुँदा समस्या भएको पनि उहाँले बताउनुभयो ।