Aafno Khabar

विषाक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनी कारबाहीमा

  • आफ्नो खबर
  • September 12, 2020 प्रकाशित

काठमाडौं। काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ ।

औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । विभागका अधिकारीहरुका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् । यसैगरी भक्तपुरको नेपाल कायाकल्प उद्योग छ ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स’ ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।