Aafno Khabar

प्रदर्शनकारीबाट निर्घात कुटिए ट्राफिक प्रहरी

  • आफ्नो खबर
  • September 3, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरस फैलिन नदिन जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै ललितपुरको पुल्चोक क्षेत्रमा बिहीबार मच्छिन्द्रनाथको रथयात्रा सुरु गरियो।

बिहानैदेखि त्यस क्षेत्रमा प्रदर्शनमा उत्रिएको युवाहरुको समूहले मच्छिन्द्रनाथको रथलाई बिहान ११ बजेपछि तान्दै पुल्चोकक्षेत्रमा ल्याइपुर्‍याएपछि अवस्था तनावपूर्ण बनेको हो।

रथ तान्‍न भन्दै सयौं मानिस सडकमा निस्किएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच दिउँसो एक बजेदेखि तनाव सुरु भएको थियो। पुल्चोक क्षेत्रमा पानीको ट्याङकरसहित पुगेको प्रहरीमाथि प्रदर्शनकारीले इँटा र ढुंगा हानेका थिए।

प्रदर्शनकारीको उग्रता त्यतीमा सिमित भएन उनीहरुले प्रहरी सवार गाडीमा पनि तोडफोड गरे भने एकजना ट्राफिक प्रहरी जवान सवार मोटरसाइकलमा आगो नै लगाए।

उनीहरुले सवारी व्यवस्थापनमा खटिएका एकजना ट्राफिक प्रहरी जवानमाथि पनि निर्घात कुटपिट गरेका छन्।

ट्राफिक प्रहरीलाई सडकको चारैतिरबाट घेरेर प्रदर्शनकारीले निर्घात कुटेका हुन । प्रदर्शनकारीको कुटपिटबाट घाइते ट्राफिक प्रहरीलाई स्थानीयको सहयोगमा अल्का अस्पतालमा लगिएको छ ।

कुटपिटबाट ट्राफिक प्रह्रीको टाउको, हात,खुट्टा, र ढाडमा चोट लागेको अल्का अस्पतालले जनाएको छ ।