काठमाडाैं । शुक्रबार डिज्नी प्लसमार्फत् प्रदर्शनमा आएको फिल्म सडक २ को दर्शक प्रतिक्रिया नकारात्मक आएकाे छ । यसअघि फिल्मकाे ट्रेलरले डिसलाइककाे कीर्तिमान बनाएकाे थियाे ।
अहिले फिल्ममाथि ट्रोल बनिरहेको छ । चलचित्र हरेर धेरैले चलचित्र नराम्राे भएकाे ट्वीटरमा उल्लेख गरेका छन् । फिल्मको ट्रेलरको अलोकप्रियताले फिल्मको असफलता अनुमान गरिएको थियो । आम दर्शकले ट्रेलरमा ‘डिस्लाइक अभियान’ नै चलाएका थिए ।
फिल्मको समीक्षात्मक टिप्पणी पनि राम्रो छैन ।
बलिउड समीक्षक तरण आदर्शले फिल्म सडक २ असह्य रहेकाे प्रतिक्रिया दिएका छन् । उनले फिल्मको प्लट, पटकथा एवं संगीतको आलोचना गरेका हुन् । आदर्शले १ स्टार दिएका छन् ।
द इन्डियन एक्सप्रेसका लागि सुभ्रा गुप्ताले लेखेकी छिन्,’सायद कुनै दिन महेश भट्ले आलियासँग हेर्न लायक फिल्म बनाउँछन् । सडक २ चाहिं त्यस फिल्म होइन।’ गुप्ताले पनि १ स्टार दिएकी छिन्।
हिन्दुस्तान टाइम्सले सन् २०२० को सबैभन्दा नराम्रो फिल्म भनेर उल्लेख गरेकाे छ । बलिउड हंगामाले ०.१ स्टार दिएकाे छ । महेश भट्काे निर्देशन नराम्राे भएकाे पनि टिप्पणी गरेकाे छ ।
एनडिटिभीले फिल्म नहेर्न सुझाव दिएको छ।
महेश भट् निर्देशित ‘सडक २’ मा आलिया भट्, आदित्य रोय कपुर, सञ्जय दत्त, पूजा भट् लगायतको अभिनय रहेको छ ।