झापा । गाैहत्याकाे आराेपित छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा झापामा एक व्यक्तिको मृत्यु भएकाे छ । झापा गाउँपालिका –३ कामाटाेलीका ३८ वर्षीय सरिकुल आलमकाे प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे हाे ।
प्रहरीकाे गाेली लागेर घाइते आलम उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बुधबार राति मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो ।
बुधबार अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय २ जना पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्ति जिल्लामा लाने क्रममा कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थियाे ।
प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गाेली चलाएकाे प्रहरीले जनाएकाे छ ।