Aafno Khabar

दुबईमा अलपत्र परेका २ सय ६४ नेपालीको उद्धार

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

काठमाडौं । दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली आइतबार स्वदेश फर्किएका छन् । नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गएको सोमबार दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी ए ३३० जहाजमार्फत नेपाल फर्किएका हुन् ।

यो उडानमा नेपाल आउनका लागि २ सय ७० जनाले टिकट काटेका थिए । यूएईमा मृत्यु भएका दुईजनाको शव पनि आजकै उडानमार्फत नेपाल पठाइएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले विदेशबाट फर्कनेका लागि होटल क्वरेण्टीन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेपछि त्यही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान स्थगन गरेका कारण यूएईमा उद्धारको लागि पुगेको जहाज रित्तै फर्किएको थियो ।

कोरोनाको पीसीआर परीक्षणको प्रमाण सहित नेपाल उड्ने तयारी गरिसकेका यात्रुलाई जहाजले नबोकी उडेपछि गएको सोमबार दुबई विमानस्थलमा नेपालीहरु अलपत्र परेका थिए । विभिन्न कारणले जागिर गुमाएर लामो समयदेखि समस्यामा परेकाहरु नेपाल फर्किन भन्दै यूएईका विभिन्न राज्यबाट दुबई विमानस्थल पुगेका थिए ।