काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका नागरिककाे उद्धारकाे नाममा सरकारले व्यापार गर्न खाेजेका हाे ? भनी प्रश्न गरेकाे छ ।
सरकारले पीसीआर टेस्ट सहज भएका देशबाट भदाै १६ पछि सशर्त नियमित उडानमार्फत नेपाली स्वदेश फर्कन मिल्ने व्यवस्था गरेकाे छ । यसरी आएकाहरु आफ्नै खर्चमा अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेकाे छ । याे व्यवस्ठापछि कांग्रेसकाे यस्ताे भनाइ आएकाे हाे ।
कांग्रेसले सरकारको पछिल्लो निर्णयअनुसार विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्दा मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत भएको पनि आराेप लगाएकाे छ ।
सरकारको पछिल्लो निर्णयअनुसार उद्धार गर्दा विदेशमा अप्ठ्यारोमा परेका श्रमिकले चार्टर फ्लाइटको महङ्गो टिकट काट्नु पर्ने, क्वारेन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैँ गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफैँ व्यहोर्नु पर्ने समस्या रहेको कांग्रेसद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत अनुकूल अवस्थामा देशमा रेमिट्यान्स पठाएर मुलुकको अर्थतन्त्र भरथेग गरिरहेका नागरिकलाई प्रतिकूल बेलामा सरकार उचित व्यवहार नगरेको आरोप पनि लगाउनु भएकाे छ ।
विज्ञप्तिमार्फत उहाँले भन्नुभएकाे छ, ‘खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महङ्गो टिकट खरिद गर भन्नू कति न्यायोचित छ? सरकारको यो निर्णय सर्वोच्चको गत असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उलङ्घन र अदालतको मानहानी हो कि होइन ?’