Aafno Khabar

पर्सामा १६ दिनको अवधिमा कोरोनाका कारण ९ जनाको मृत्यु

  • आफ्नो खबर
  • July 31, 2020 प्रकाशित

पर्सा । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति मृत्यु भएको हो । मृतक मुटुको रोगी रहेको अस्पतालले जनाएको छ । मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएका उनको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्पतालले जनाएको छ । बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।