Aafno Khabar
creativeideas

बाघ संरक्षणकाे क्षेत्रमा महत्वपूर्ण उपलब्धि : राष्ट्रपति भण्डारी

  • आफ्नो खबर
  • २०७७ साउन १४ गते प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घ संस्थाको महत्वपूर्ण योगदानकाे प्रश‌ंशा गर्नुभएकाे छ ।

बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकीन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीले बताउनुभएकाे छ ।

विश्व बाघ दिवसका अवसरमा बुधबार उहाँले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गर्नुभएकाे छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउन थािलएकाे छ ।