काठमाडाैं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन सबैसँग आग्रह गरेका छन् । मंगलबार राति फेसबुकमा एक भिडिओ सार्वजनिक गरी हमालले दीपाश्री निराैलालाई माफी दिन सबैसँग आग्रह गरेका हुन् ।
भिडिओमा हमालले भनेका छन्–‘यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफ गरिदिनु होला ।’
उनले दर्शकहरुबाट सकारात्मक प्रतिक्रियाकाे पनि अपेक्षा राखिएकाे बताएका छन् । नायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेकोमा दु:ख पनि व्यक्त गरे ।
भिडिओमार्फत हमालले भनेका छन् ‘मलाइ लक्षित गरेर कसैले आफ्नो भनाइ राख्नुभयो । भनाइ सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आए । तर, अर्को तहबाट हेर्दा, एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’
हमालले व्यक्तिगत हिसाबले आफू जनताको मायाले नै आफू याे स्थानमा पुगेकाे स्मरण गर्दै उनले भने ‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, फराकिलो भएर कसैको मानवतामा आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौँ ।’
अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिएका थिए ।
उनले अन्तवार्तामा भनेकी थिइन्, ‘राजेश हमाल हुनुहुन्छ र ? राजेश दाइ मात्र महानायक हुनुभयो । त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेल्नुभो । उहाँले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ ।’
यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पुर्याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो ।