एजेन्सी । अमेरिकी नायिका तथा गायिका नाया रिभेराको शव फेला परेको छ । नाया रिभेराको शव ६ दिनपछि साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो । उनी ३३ वर्षकी थिइन् ।
रिभेरा र उनका छोराले गत बुधबार एउटा डुङ्गा भाडामा लिएर दक्षिणी क्यालिफोर्नियाको एक तालमा गएका थिए । तर उनका छाेरा मात्र फर्किएका थिए । उनी तालमा नै बेपत्ता भएकी थिइन् ।
नाया रिभेराले मृत्युवरण गर्नुअघि छोरालाई बचाउन आफ्नो भए भरको बल लगाएको सीएनएनले उल्लेख गरेकाे छ । तर आफू भने बच्न सकिनन् ।
रिवेराले निकै कम उमेरमा नै अभिनय गर्न सुरु गरेकी थिइन् । उनले चार वर्षको उमेमा सिबिएस च्यानलमा ब्रोडकास्ट रोयल फ्यामिली शोबाट सुरुवात गरेकी थिइन् । सन् २००५ मा फक्स च्यानलमा आउने शो ग्लीमा समलिङ्गी टीन स्यान्टेना लोपेजको भूमिकाबाट उनले निकै चर्चा पाएकी थिइन् ।
रिभेराले सन् २०१४ मा हरर फिल्म डेविल्स डोरमा काम गरेकी थिइन् । उनले यो फिल्मका सहकर्मी रयान डोर्सीसँग विवाह गरेकी थिइन् । सन् २०१८ मा नाया र रयानको सम्बन्धविच्छेद भयो । उनकाे चार वर्षका छोरा जोसे छन् ।