काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछिल्लाे अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चर्चा भइरहेकाे छ । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘राम पनि भारतीय नभएको र अयोध्या पनि भारतको नभएको’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे ।
उहाँकाे याे अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तताएकाे छ । उहाँकाे अभिव्यक्तिमाथि समर्थन र आलाेचना भइरहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभएकाे थियाे ‘हामीले सीता भारतका राजकुमार रामलाई दियौँ भनेर भन्दै आएका छौँ । तर, हामीले सीता भारतलाई होइन, अयोध्यालाई दिएका हौँ । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’
उहाँले थप भन्नुभएकाे थियाे, ‘अयोध्यामा भीषण विवाद छ त्यहाँ (भारतमा)। हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’
उहाँकाे याे अभिव्यक्तिमाथि कतिपयले अपरिपक्व र कमेडीकाे संज्ञा दिएका छन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ,‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’
आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं! सिधै बैकुण्ठधामको यात्रा गरौं ! https://t.co/yDepnuFCFY
— Baburam Bhattarai (@brb1954) July 13, 2020
पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले पनि ओलीको अभिव्यक्तिले २ देशबीचको सम्बन्धमा अनावश्यक तनाव बढाउने टिप्पणी गर्नुभएकाे छ । उहाँले प्रधानमन्त्रीले उटपट्याङ, अपुष्ट, अप्रमाणित कुरा गरेको पनि उल्लेख गर्नुभएकाे छ ।
प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन https://t.co/jzP5hcH4qu
— Kamal Thapa (@KTnepal) July 13, 2020
यस्तै, ट्वीटरमा डा. कुन्दन अर्याल लेख्नुहुन्छ, ‘याे के बाेलेकाे ? भारतीय टेलिभिजन च्यानलसँग प्रतिस्पर्धा गरेकाे ?’
योे के बोलेको? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको? https://t.co/54e3hoOjyf
— Kundan Aryal (@TheRealKalamchi) July 13, 2020
यस्तै, कतिपयले भने प्रधानमन्त्रीकाे समर्थनमा पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनीहरुले भारतले गरेका कतिपय हर्कतका लागि उस्तै खालकाे जवाफ दिएकाे भनी प्रधानमन्त्रीकाे समर्थन गरिररहेका हुन् । तर कतिपयले धर्म र भावनात्मक विषयमा अभिव्यक्ति दिँदा अपुष्ट र बेतुकका कुरा गर्न नहुने पनि बताएका छन् ।