सार्वजनिक यातायात सञ्चालनबारे सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएकाे छ । थापाले शनिबार ट्वीट गरी यातायात सञ्चालनबारे सरोकारवालासँग सामूहिक छलफल गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएकाे हाे ।
थापाले ट्वीटमा लेख्नुभएकाे छ ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदूर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामूहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदूरले काम गर्न सक्ने र उपभोक्ता मारमा नगर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।’
बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभएकाे थियाे ।
तर यातायात व्यवसायीहरुले यही अवस्थामा सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । उनीहरुले बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन नभएकाले तत्काल सार्वजनिक सवारी नचलाउने निर्णय गरेकाे बताएका छन् ।