Aafno Khabar

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमा

  • May 17, 2020 प्रकाशित

काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । उनीहरुको सोमबारसम्म कोरोना परीक्षणको नतिजा आउनेछ ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

ती महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। अहिले महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुति वार्डसमेत सिल गरिएको छ।