Aafno Khabar

बस्नेत, श्रेष्ठ र खनालविरुद्धको मुद्दा मिलाउन नेकपा नेता नेम्वाङ सक्रिय

  • May 7, 2020 प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको घटनालाई अपहरण भनी सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि ‘राजनीतिक समाधान’ खोज्ने प्रयास शुरु भएको छ । यस प्रकरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईबीच मंगलबार छलफल भएको स्रोतले जनाएको छ ।

नेम्वाङले अपहरण पुष्टि नहुने घटना भएकाले यसको राजनीतिकरणमै सीमित हुन आग्रह गरेको स्रोतले जनाएको छ । नेम्वाङले कानुनविदहरुसँग पनि यसबारे छलफल गरेको बताएका छन् ।
नेम्वाङले यो प्रकरणले पर्याप्त राजनीतिक चर्चा पाइसकेकाले फौजदारी मुद्दामा गएर आफैं कानुनी झमेलामा पर्नेतिर नजान डा. भट्टराईलाई आग्रह गरेको बताइएको छ । सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेको छ । यसको अनुसन्धान भने प्रहरीले नै गर्नेछ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईकै नेतृत्वमा सांसद यादवका तर्फबाट नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएकाले भट्टराईसँगै वार्ता गरिएको नेकपा स्रोतले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्नुपर्ने वा नपर्ने भन्ने निक्र्यौल गर्नेछ । उसले प्रहरीलाई अनुसन्धान गर्न पठाउँदा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य कौशल यादव लगायत सांसद यादवका अंगरक्षक समेत अनुसन्धानको दायरमा आउनेछन् ।

डा.यादवलाई लिनका लागि महोत्तरी जाँदा महेश बस्नेतको टोलीमा अरगरिया पनि थिए । फर्किँदा कौशल यादवसमेत सँगै आएका थिए । यद्यपि अपहरणको जाहेरी दर्खास्तमा भने अरगरिया र कौशल यादवलाई विपक्षी बनाइएको छैन ।