फाइल तस्विर
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमी कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक लाग्ने कुरामा पनि ओलीले प्रतिवद्धता जनाएका छन् । ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभयो प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो ।
साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ । उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने भनिएको छ । पार्टी नेताले जितेको कुनै एक सिट खाली गराएर उपचुनाव गराउने नेकपाको तयारी छ ।
बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको उम्मेदवार बनाएर उहाँलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णयभित्र स्वभाविक रुपमा त्यो अन्तरनिहीत छ । उहाँ प्रतिनिधिसभाको सदस्य भएर आउनु भएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका खुल्छ ।’
बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ भने २५ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।