काठमाडौं । जेठको अन्तिम साता एसईई परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले सिफारिस गरेको छ ।
कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख गरिएको छ । असार १५ सम्म परीक्षा सक्ने गरी परीक्षा सञ्चालन गर्न सकिने कार्यदलले बताएको छ ।
साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट) मा गर्न पनि सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् ।
चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस ९कोभिड–१९० का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।
अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ । यसो गर्दा पनि हिमाली र पहाडी जिल्लाका कतिपय विद्यालयलाई परीक्षा केन्द्रको मान्यता दिइनेछ ।
साथै परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ ।
यसैबीच कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने बैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ ।
शिक्षा मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयहरुका साथै निजी विद्यालयहरुको छाता संगठनहरुलाई पनि सकेसम्म चाँडो नतिजा प्रकाशित गर्न आग्रह गरेको छ ।