Aafno Khabar

अर्को पटक आफूलाई राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्छ : ट्रम्प

  • २०७७ बैशाख १८ गते ०४:४६ प्रकाशित

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताएका छन् । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।

ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ ।

ट्रम्पमाथि कोरोना भाइरसको महामारीलाई गम्भीररुपमा नलिएको आरोप लागेको छ । समयमा नै आवश्यक कदम नचालेकाले अहिले अमेरिकामा यो भाइरसको महामारी फैलिएको विशेषज्ञहरुले बताउँदै आएका छन् । तर, ट्रम्पले भने विश्वले छिटै यसलाई गम्भीरताको रुपमा लिन चीन सक्रिय बन्नुपर्ने बताएका छन् ।