काठमाडौं । विरगञ्जमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण्मा कोरोना पोजेटिभ देखिएकी एक युवतीको ज्यान गएको छ ।
वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको ज्यान गएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
उनी ब्लड क्यान्सरको बिरामी भएको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।
उनलाई शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि आरडी टेस्ट एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । सोही क्रममा उनको ज्यान गएको हो ।