Aafno Khabar

१० दिन बढ्यो लकडाउनको समय, वैशाख ३० गतेसम्म सीमा नाका बन्द हुने

  • २०७७ बैशाख १४ गते १४:३२ प्रकाशित

काठमाडौं । सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन वैैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेको छ ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो ।

यसैबीच सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।
सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।