काठमाडौं । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको छ । त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार कोरोना देखिएका दुई जना भारतीय नागरिकहरु वैशाख ५ गतेसम्म बर्दियामै रहेकाले बर्दिया जिल्ला जोखिममा छ ।
यसैबीच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सिमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । त्यसपछि उनलाई भारतीय पक्षले नै नेपाल आउन नदिई क्वारेन्टाइनमा राखिएको छ । ।