Aafno Khabar

छत्रकोट गाउँपालिकाको मनोमानी, सँगै आएका आमा घरमा छोरा क्वारेन्टाइनमा

  • २०७७ बैशाख १३ गते १५:१८ प्रकाशित

गुल्मी । प्रदेश नम्बर ५ सरकारले समन्वय गरेर पठाएका छत्रकोट गाउँपालिकाका स्थानीयलाई गाउँपालिकाले विभेद गरेको छ । प्रदेश सरकारको समन्वयमा छत्रकोट पुगेका स्थानीयलाई गाउँपालिकाका अध्यक्षले मनलाग्दी तवरबाट क्वारेन्टाइनमा राखेको बुझिएको छ ।

गाउँपालिका गएका मध्यबाट सामान्य अवस्थाका ९ जनालाई मात्र बिहीबार क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई कोरोनाको कुनै लक्षण पनि नदेखिएको र कोरोना संक्रमितसँग पनि भेटघाट नभएको भन्दा भन्दै गाउँपालिका अध्यक्षले क्वारेन्टाइनमा राखेको उनीहरुको गुनासो छ।

‘अध्यक्षको एकलौटी निर्णयले हामीलाई दुख दिने मनसायले क्वारेन्टाइनमा राखियो’ क्वारेन्टाइनमा बसेकी एक महिलाले दुखेसो गर्दै भन्नुभयो, ‘क्वारेन्टाइनमा बस्न लगाइएका हामी कसैलाई पनि कोरोनाको कुनै लक्षण छैन, अनी हामीसँगै आएका अन्य साथी क्वारेन्टाइनमा बस्न नपर्ने हामीलाई किन राखिएको हो भन्ने केही बुझिएन, कोहीलाई घर पठाउने कोहीलाई क्वारेन्टाइनमा राख्दा हामीलाई दुःख लागको छ । उहाँले भन्नुभयो’।

गाउँपालिकाले क्वारेन्टाइनमा राखेकामध्ये एकैदिन आएका आमाछोरालाई समेत विभेद गरिएको छ । एकैदिन आएका आमालाई घरमा पठाइएको छ भने, छोरालाई क्वारेन्टाइनमा राखिएको छ ।
बिहीबारबाट विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुको सामान्य ज्वरो नाप्ने बाहेक अन्य काम भएको छैन । गुल्मी जिल्लामा नै तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको गाउँपालिकाले नै बताउँछ ।

स्थानीय तहको बजेट सक्ने मेसो
क्वारेन्टाइनमा राखिएकाहरुलाई गाउँपालिकाले व्यवस्था गरेको मेनु यस्तो छ । विहान – कालो चिया, ८ बजेतिर – दुध हालेको चिया खाजा । १० बजे बिहानको खाना – दाल, भात, तरकारी, अचार, दिउँसोको खाजा – आफूलाई इच्छा लागेको अर्डर गर्ने । साँझ – चिकन खाना । त्यसमाथी क्वारेन्टाइनमा बसेकालाई प्रतिब्यक्ति दिनको ५ सय रुपैयाँ गाउँपालिकाले दिने गरेको छ ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि गाउँपालिकाले गरेको खर्च हेर्दा बजेट सक्ने मेसो गरेको अनुमान गर्न गारो हुन्न । दक्ष जनशक्ती नभएको गाउँपालिकामा क्वारेन्टाइनमा राखिएकाको स्वास्थ्य परीक्षण कसरी गर्ने ? अनी हुरहुर्ती गाउँ छिरेका मध्यबाट कोही कोहीलाई मात्र क्वारेन्टाइनमा राख्दा कोरोना रोक्न गाउँपालिका कसरी सफल होला ? स्थानीयले गाउँपालिकासँग प्रश्न गरेका छन ।