Aafno Khabar

उदयपुरमा थप ३ जनामा कोरोना, नेपालमा संक्रमितको सङ्ख्या ४५ पुग्यो

  • २०७७ बैशाख १० गते १२:१२ प्रकाशित

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखिएको थियो ।

संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।