Aafno Khabar

वडाध्यक्षको निर्देशनपछि अनामनगरको भाटभटेनी बन्द

  • २०७७ बैशाख ९ गते ०६:३३ प्रकाशित

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस (कोभिड–१९ को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन निर्देशन दिएपछि भाटभटेनी बन्द भएको हो ।

साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो । तर वडाध्यक्षको निर्देशनपछि सोमबारबाट भने भाटभटेनी बन्द भएको छ ।

सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।

अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् । संक्रमणबाट फैलन नदिन भन्दै बाहिर लाइन लगाएर दूरी कायम गर्न भनिए पनि भित्र पसिसकेपछि भाटभटेनीले कुनै सतर्कता अपनाएको पाइएको छैन् ।

सामान्य नागरिकले किनमेल गर्ने पसलहरु बन्द गराएर ठूलो सुपरमार्केटमात्रै खोल्न दिइएको भन्दै सर्वसाधारणहरुले नै सामाजिक सञ्जालमा विरोध गर्ने गरेका छन् ।