Aafno Khabar

साथीको निर्घात कुटाइबाट रौतहटमा एकजना युवकको मृत्यु

  • २०७७ बैशाख ८ गते ०४:५१ प्रकाशित

रौतहट । रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ । कटहरिया नगरपालिका-१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति १० बजे बोलाएर लगेका थिए ।

साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागि वीरगञ्ज लगिएको थियो । टाउको छातीलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा राधे दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।