Aafno Khabar

सातवटै प्रदेशमा प्रहरी प्रमुख पनि फेरिए

  • २०७७ बैशाख ८ गते १३:४५ प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक एसएसपीबाट प्रहरी नायब महानिरीक्षक डीआईजी मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक आईजीपी ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो।

गृह मन्त्रालयले चैत २८ गते एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, शहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

दर्ज्यानी चिन्ह लगाइदिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले बढुवा भएका अधिकृतलाई पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनका नीति पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटिने अधिकृतको भूमिका अझ बढी हुने बताउनुभयो । यसैबीच, बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, २ नं. प्रदेशमा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई जिम्मेवारी दिइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखामा काम गरिसक्नुभएको छ ।  सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।