Aafno Khabar

सरकारको अध्यादेशपछि सैनिक मुख्यालयमा सुरक्षा निकायको बैठक

  • २०७७ बैशाख ८ गते १५:४६ प्रकाशित

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर समसामयिक विषयमा छलफल गरेका हुन् ।

जंगीअड्डा स्रोतले यो भेटघाटलाई नियमित भनेको छ । एक उच्च सुरक्षा अधिकृतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नेतृत्व सम्हालेपछि हरेक महिना सुरक्षा निकायको समन्वयात्मक छलफल गर्ने गरेका छन् । सोमबारको छलफल त्यसैको निरन्तरता भएको ती अधिकृतले दाबी गरेका छन् ।

उनले सोमबारको छलफलमा कोभिड–१९ नियन्त्रण र समन्वयबारे कुराकानी भएको पनि जानकारी दिए । छलफलमा प्रधानसेनापति थापासहित नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारी सहभागी थिए ।