बीबीसी । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ।
देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले उपयुक्त ठानेका समयमा प्रतिबन्धहरू खुला गर्ने प्रक्रिया सुरु गरिने बताएका थिए।
अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ बेरोजगारहरूको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ। प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुनः सञ्चालन गर्ने समयबारे गभर्नरहरूसँग ट्रम्पको गम्भीर मतभेद छ।
तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्य खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ। त्यसलाई राष्ट्रपतिले त्यो निकै रोमाञ्चक भनेका छन्।
राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवामा सेवाग्राहीको भार थामिनसक्नु भएको बताएका छन्।
आय ठप्प भएका बेला अहिले लागुपदार्थ दुर्व्यसनी पनि अझ ठूलो समस्याको रूपमा देखा परेको उनको भनाई छ ।
अमेरिकाले अहिलेसम्म झन्डै ३३ लाख जनामा कोभिड १९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झन्डै एक प्रतिशत हो।
तर बुधवार लगातार दोस्रो दिन कोभिड १९ बाट हालसम्मकै उच्च सङ्ख्यामा बिरामीहरूको मृत्यु भएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
अमेरिकामा अहिलेसम्म ६ लाख ३७ हजार भन्दा धेरै व्यक्ति सङ्क्रमित भएको पुष्टि हुनुका साथै २८ हजार भन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरस आफ्नो उत्कर्षमा पुगिसकेको दाबी गरेका छन्।
अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र पुन सञ्चालन गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए।
बुधवार नै कोभिड १९ भएको पुष्टि भएकाहरूको सङ्ख्या विश्वभरि २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो।