Aafno Khabar

गाेरखामा १ जना र सप्तरीमा २ जनामा काेराेना र्‍यापिड टेष्ट पाेजेटिभ

  • २०७७ बैशाख ३ गते ०८:४५ प्रकाशित

काठमाडाैं। बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ।

ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेको र्‍यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको हो ।

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ।

उता दिल्लीबाट फर्किएका दुई जनाको र्‍यापिड टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडा सिल गरिने भएको छ ।बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब त्यहाँ मानिस घर बाहिर निस्कन पाउँदैनन् ।

दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड टेष्ट गराएको थियो । उनीहरुमध्ये दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएकाे छ ।