Aafno Khabar

बेलायतका प्रधानमन्त्रीले पनि जिते कोरोनाको लडाई, डिस्चार्जपछि स्वास्थ्यकर्मीलाई दिए धन्यवाद !

  • April 13, 2020 प्रकाशित

बीबीसी ।  कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले  आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्। अस्पतालबाट निस्केपछि जाेनसनले  “मलाई जे पनि हुन सक्थ्यो” भनेका छन्।

कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए ।

सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले “व्यक्तिगत साहस” देखेको बताएका छन्।

 

प्रधानमन्त्री जोनसनका अनुसार जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए। त्यसबाहेक अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै उनले धन्यवाद दिए।

राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।

“त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय छ,” प्रधानमन्त्री जोनसनले भने।

प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ। “आफ्ना चिकित्सक टोलीको सुझाव अनुसार प्रधानमन्त्री तत्काल काममा फर्किनु हुने छैन। उहाँले सेन्ट टमसेज अस्पतालमा पाएको उत्कृष्ट हेरचाहका लागि सबैलाई धन्यवाद दिन चाहनुभएको छ।”

“यो रोगबाट प्रभावित सबैप्रति उहाँको सहानुभूति छ।”