Aafno Khabar

कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमित १३ पुगे

  • २०७७ बैशाख १ गते ०९:०० प्रकाशित

कैलाली । कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उहाँ लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की जानुभएकाे थियाे । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर कैलाली पठाएकाे स्थानीय जनप्रतिनिधिकाे भनाइ छ ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।  याेसँगै नेपालमा काेराेना सङक्रमितकाे सङ्ख्या १३ पुगेकाे छ ।