काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् ।
मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित आएकी जमैकाकी सुन्दरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरे ।
उनीहरुले बिहीबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि भेटेका छन् ।
भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव भए नभएको विषयमा समेत कुराकानी भएको थियो । मन्त्रालयका अधिकारीहरुकाअनुसार यो सौन्दर्य प्रतियोगिता नेपालमा गर्न सम्भव छ छैन भन्ने भन्ने बुझ्न आयोजक संस्थाकी अध्यक्ष मोर्ली आफैं आएकी हुन् । तर प्रारम्भिक छलफलमै रहेकाले मिस वर्ल्ड २०२० नेपालमा हुने नहुने भन्न गाह्रो छ । मिस वर्ल्ड – २०१९ मा नेपालको प्रतिनिधित्व गरेकी अनुष्काले ब्यूटी विथ पर्पस’ अवार्ड जितेकी थिइन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा-७ को सोलसिङ गाउँमा सञ्चालन गरेको स्वावलम्बन प्रोजेक्टलाई प्रस्तुत गरेकी थिइन् । विश्व सुन्दरी टोनीले शुक्रबार त्यो प्रोजेक्टको अवलोकन गर्ने कार्यक्रम छ । त्यो परियोजनामार्फत् सोलसिंङ गाउँका १४० घर परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरणमा काम भइरहेको अनुष्काले बताएकी छन् ।
यस्तै पूर्व मिस नेपाल श्रृंखलाले चेपाङ वस्तीमा सञ्चालन गरेको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम छ । २०१८ को मिस वल्र्डमा शीर्ष पाँचमा पुगेकी उनको त्यो प्रोजेक्टले पनि मल्टिमिडिया अवार्ड हात पारेको थियो ।