Aafno Khabar

भारतले औषधिको निर्यात राेक्दा विश्रभर अभाव हुने संकेत, नेपाल भने आत्तिनु नपर्ने

  • बीबीसी
  • March 5, 2020 प्रकाशित

बीबीसी । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ।

जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ।

अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परिसकेका छन्। एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकाम पनि सङ्क्रमण फैलिएको छ।

नब्बे हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण र झन्डै ३,२०० जनाको मृत्यु भएको पुष्टि भएको छ।
भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो। भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए  ।

“चीनमा नबन्ने औषधिका कच्चा पदार्थ पनि चीनबाटै मगाइन्छ। यदि भारत र चीन दुवै प्रभावित भए भने विश्वभरि नै अभाव हुनसक्छ,” चाइना मार्केट रिसर्च ग्रूपका विश्लेषक शउन रेनले बताए।

निर्यात नियन्त्रणका निम्ति सूचीकृत भएका सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतजति हुन्छ। यसमा टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी१२ पर्छन्।

अक्सफोर्ड इकोनोमिक्सका अगुवा अर्थविद् स्टीभन फोरम्यानले बीबीसीसँग कुरा गर्दै यी घटनाक्रमले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि देखिइसकेको बताए। “भारतमा सामग्रीको आपूर्तिमा कमी हुनासाथ त्यहाँ मूल्य बढेको सङ्केत पाइसकिएको छ,” उनले भने।

नेपालमा ‘आत्तिनुपर्दैन’
नेपाल फार्मसूटिकल्स असोसिएशनका अध्यक्ष शशिकान्त चौधरीका अनुसार नेपालमा अहिले आत्तिनुपर्ने अवस्था छैन।

नेपालमा झन्डै ६० वटा कम्पनीले औषधि उत्पादन गर्छन्। प्रत्येक कम्पनीसँग तीनदेखि छ महिनासम्म औषधि उत्पादन गर्न पुग्ने कच्चा पदार्थ मौज्दात रहेको हुनुपर्ने उनले बीबीसीलाई जानकारी दिए।

“चीनबाट आयात घटेको र भारतले केही सामग्रीको निर्यातमा कडाइ गरेका कारण केही समस्या उत्पन्न हुन सक्ने भए पनि अहिले नै आत्तिनुपर्ने अवस्था छैन,” चौधरीले भने।

बजारमा देखा परेको अभाव कम गर्न विभिन्न निकायले घरटोलमा पुगेर जनचेतना बढाउनुपर्ने उनको भनाइ छ।