Aafno Khabar

यो वर्ष प्रिमनसुनी अवधिमा सरदरभन्दा बढी वर्षा हुने अनुमान

  • २०७६ फाल्गुन २० गते ०९:२० प्रकाशित

काठमाण्डौ – यो वर्षको प्रिमनसुनी समयमा नेपालको कर्णाली प्रदेश र गण्डकी प्रदेशको उत्तरी भू–भागबाहेक अन्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको जल तथा माैसम विज्ञान विभागकाे जलवायु महाशाखाले जनाएको छ ।

विभिन्न ‘ग्लोबल क्लाइमेट मोडल’हरुले देखाएको संकेत विश्लेषण गरी जल तथा मौसम विज्ञान विभागको जलवायु शाखाले प्रिमनसुनी समयमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना देखिएको जनाएको हो ।

प्रिमनसुनी अवधि भन्नाले अंग्रेजी महिनाको मार्चदेखि मेसम्म लिने गरिन्छ । नेपालमा सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्दछ । यसअघि हुने वर्षालाई प्रिमनसुनी वर्षा भनिन्छ ।

प्रिमनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसमविद्हरूका अनुसार पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ ।

पहाडी भेगमा प्रिमनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर देखिँदैन । यो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग मिल्ने हुँदा मौसमी प्रणाली बलियो भएर चट्याङसमेत पर्ने हुन्छ ।