Aafno Khabar

क्वारेन्टाइनमा राखिएका नेपाली आज घर फर्कदै

  • २०७६ फाल्गुन १९ गते ०२:४६ प्रकाशित

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबार घर फर्किएको छ ।

नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा घर फर्काइएको हो ।

यसअघि यही फागुन ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइन बसेको १४औँ दिनमा शनिबार स्वाब नमूना सङ्कलन गरिएको थियो ।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनाको भने अझै रिपोर्ट आएको छैन । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो । मन्त्रालयका अनुसार १७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरी अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।

खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहनु भएका नेपाली सेनाका क्याप्टेन डा निवन फुयाँलले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको बताउनुभयो ।