Aafno Khabar

छाउपडी सूदुरपश्चिमले पाएको उपमा ! वास्तविकता र बुझाई !

  • हेमन्त शाही
  • २०७६ फाल्गुन १७ गते १६:२९ प्रकाशित

हेमन्त शाही
भौगलिकताका आधारमां पश्चिमी भेगमा बसोबास गर्ने नेपालीलाई जुन दिनदेखी सुदुरको श्रीपेच पहिराइयो त्यही दिनदेखी सुदुर पश्चिमको आर्थिक,सामाजिक तथा राज्यका विभिन्न आयामसँगको सम्बन्धमा पनि दुरी सिर्जना भयो ।

सुदुर पश्चिमका सामाजिक, राजनैतिक तथा आर्थिक पक्षहरुले बेलाबेलामा नेपालका राष्ट्रिय पत्रपत्रिकाको पाना रंगाउँछ भने रेडियो तथा टेलिभिजनको पनि मुख्य समाचार बन्छ ।
विशेष गरेर सुदुर र मध्यपश्चिमका विभिन्न जिल्लामा ब्याप्त छाउपडी प्रथाबाट पीडित भएका महिलाहरुको कथाबाट शायद कोही पनि अछुतो छैनौ ।

देशमा आधुनिकरण र नयाँ युगको बिगुल फुकिदै गर्दा सामाजिक कुरितीबाट अकालमा ज्यान गुमाउनु परेका नारीहरुको चिच्याहटले समाज आक्रान्त बनेको छ । जब कुरा छाउपडी को हुन्छ तब कतीपय मानिसहरु सुदुरपश्चिमलाई अनेक आक्षेप लाउछन, अनी आफू यही समाज र देशको अङ्ग भएको सत्यलाई लाज नमानी भुलिदिन्छन या मानौ भुलेको भान पार्छन ।

विषेश गरी सुदुर पश्चिमको टोल–टोलमा आफ्नो प्रभुत्व जमाएर बसेको छाउपडी प्रथालाई हामीले कुरितीको रुपमा मात्र नभइ त्यो समुदायको मानसिकता र पुरातन आस्थालाई समेत बिचार पुर्याई त्यसको न्यूनिकरणतर्फ उन्मुख हुनु जरुरी देखिन्छ।

किनभने सारा समाजको आस्थालाई हामी जबर्जस्ती लत्याउन सक्दैनौ । जब समुदायको आस्थामा ठेश पुग्छ तब मानिसहरु झन उग्र र बिरोधाभासले भरिएका हुन्छन र जती प्रयत्नरत रहे पनि त्यस्ता कुप्रथा समाजमा विद्यमान भइ नै रहनेछन । छाउपडीलाई यती चर्चित बनाइयो कि यो चर्चासँग सूदुरपशिचम पनि अछुतो हुन सकेन । धेरैले यहाँको जनजिबन नबुझेर अझ भनौ अहिलेका सामाजिक सन्जालमा रहेका आधारहिन समाचारको भरमा अनेक टिका टिप्पणी गर्छन, तर के हामीले वास्तबिकता बुझ्न खोज्यौ ।

आखिर किन त्यहाको जनमानसमा गहिरो छाप छोडेको छ ? हामीले किन बुझ्न जरुरी ठानेनौ कि यो प्रथा मौलाउनुको पछाडि कुन बिचारधाराले जरा गाडेको छ्र छाउपडीलाई प्रथा मानेर सताप्दियौदेखी आत्मसाथ गरेको मानसिकता लाई यो कुप्रथा हो भनेर बुझाउन केही महिना को आल्टाल योजनाले मात्र नपुग्ने प्रमाणित नै छ ।

समाजको स्वरुप बदल्न केही दिन या महिना पर्याप्त हुँदैन यसको लागि गतिशिल समाजलाई के सहि र गलत भन्ने कुराको ज्ञान हुन जरुरी छ । तसर्थ, एकैपाली प्रथा नै हटाउनु पर्छ भन्ने लक्ष्य भन्दा पनि योजनाबद्ध रुपले समाजमा विश्वाश कायम गर्दै प्रगतिशिल बाटोमा हिंड्नु नै उत्तम हुन्छ भन्ने यो लेखकको ठम्याइ छ ।

छाउगोठ भत्काएर छाउपडी हराउदैन बरु मनविय भावना भत्किन्छ जुन सबै भन्दा ठूलो बाधक बन्न सक्छ । हामी व्यवस्थापकको भूमिकामा रहेर मात्र विश्लेषण गर्नु यो बिषयमा व्याबहारिक हुँदैन किनकी यहाँ एकजनाको मात्र नभइ सिंगो समुदायको समवेदना जोडीएको छ ।

छाउपडीको मानसिकता देखिने गरी सूदुरपश्चिममा भए पनि यसको अनेक रुपको अभ्यास देशभरी नै व्याप्त नै छ, त्यसैले सम्पूर्ण सूदुरपश्चिमलाई नै छाउपडीको उपमा दिनु कत्तिको जायज अनी सार्थक हुन्छ ?

सम्बन्धित शीर्षकहरु