टेलिभिजन शो इण्डियन आइडलको ११ औँ संस्करणको ग्राण्ड फिनाले आइतबार राति सम्पन्न भयो । ‘इण्डियन आइडल’को उपाधि सनी हिन्दुस्तानीले उचाले । उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते ।
यस शो को २ जना रनरअप प्रतियोगीले पनि ५–५ लाख भारतीय रुपैयाँ प्राप्त गरे । पहिलो रनरअप रोहित राउत र दोस्रो रनरअप ओंकना मुखर्जी भएका थिए ।
इण्डियन आइडलको ११ औँ संस्करणले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोको एउटा परिचय बनाएको छ । तर यहाँसम्म पुग्न उनले गरेको संघर्ष सानो छैन । संघर्षकाबीच उनले आफूभित्र हुर्काएको गायकीले एउटा मूल्य भने पाएको छ ।
सनीको कहानी प्रेरणादायी छ । बठिण्डाको एउटा सानो गल्लीबाट निस्किएर मुम्बइसम्म आएर आफ्नो र आफ्नो परिवारको नाम चिनाउन एउटा सानो प्रयासले सम्भव छैन । उनी एक गरिब परिवारका सदस्य थिए । यहाँसम्म आउन उनले निकै मेहनत गरे । सनी भन्छन् उनी यो शो मा आउनुभन्दा पहिला जुता पालिस गरेर हिँड्थे । उनकी आमा घरघरमा चामल मागेर हिँड्थिन् । यसबाट उनीहरुको गुजारा चल्थ्यो ।
अडिसनमा उनले चर्चित सुफी गायक नुशरत फतेह खानको ‘आफ्री आफ्री’ बोलको गीत गाएका थिए । गीत सुनेपछि निर्णयहरुले उठेर उनको गायकीको सम्मान गरेका थिए । उनल संगीत नसिकेर मोबाइलमा सुनेको भरमा नै गीत गाएको बताएका थिए । यसपछि निर्णायहरुले संगीत सिक्नेहरु भन्दा कम नभएको प्रतिक्रिया दिएका थिए ।
साथीहरूसँग उधारो मागेर इण्डियन आइडलको अडिसनमा
सनी साथीहरूसँग उधारो मागेर इण्डियन आइडलको अडिसनमा गएका थिए । आइडलको अडिसनमा आउनुअघि मानिसहरूको जुत्ता पालिस गरेर तथा बस र रेल स्ट्यान्डमा गीत गाएर उनले परिवारको गुजारा चलाउन मद्दत गरिरहेका थिए ।
ती दिन सम्झँदै सनी भन्छन्, ‘आज पनि याद छ, मेरा साथीहरूले मलाई रियालिटी शोमा जान भनिरहन्थे तर मसँग अडिसन दिन जान सक्ने पैसा थिएन । एउटा साथीले मलाई पैसा उधारोसमेत दियो । साथीहरुले हौसला दिए पनि मेरी आमाले मलाई अडिसनमा जान दिइराख्नु भएको थिएन । मैले आमासँग एक मौका दिन भने अनि उहाँ मान्नुभयो । मेरो कुनै तयारी थिएन । मेले नुशरत साहेबको २–३ वटा मात्र गीत सुनेको थिएँ । तिनै गीत अडिसनमा गाएँ र छनौट हुन पुगे ।’
शोमा गएपछि उनको चर्चा चल्यो । उनले शोका दौरान नै सिनेमामा गाउने अवसर पाएका छन् । उनले पहिलो ब्रेक इमरान हाशमीको ‘द बडी’को लागि पाए भने दोस्रो मौका कंगना रनौतको ‘पंगा’को लागि पाइसकेका छन् ।
–भारतीय सञ्चारमाध्यमको सहयोगमा